गाई तिहारको उल्लास : गोठाटारमा गाईसँगको आत्मीयता (तस्बिरहरू)

काठमाडौं । झिलिमिली बत्ती र देउसी भैलोको रौनकले तिहारको चौथो दिन देशभर विशेष माहोल छ । यसवर्ष तिथि घटबढका कारण गाई र गोरु तिहार एकैदिन परेको छ, जसले गर्दा धार्मिक आस्था र परम्पराको सुन्दर संगम देखिएको छ । यसै सन्दर्भमा, काठमाडौंको गोठाटारमा रहेको असहाय गाईबाच्छा संरक्षण स्थलमा बेसहारा गाईहरूको विशेष पूजा गर्दै तिहार मनाइएको छ ।

सनातन धर्ममा गाईलाई ‘विश्वकी माता’ का रूपमा पूजिन्छ । ‘गावो विश्वष्य मातर’ भन्दै वैदिक कालदेखि नै गाईलाई पवित्र र पूजनीय मानिएको छ । गाईको दूध, गहुँत र गोबरलाई पनि अत्यन्तै पवित्र मानिन्छ । शास्त्रीय मान्यताअनुसार गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुन्छ । यसैले गाई तिहारका दिन गाईको शिरदेखि पाउसम्मका अंगहरूको पूजा गरिन्छ । रक्षाबन्धनमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् वैतरणी नदी पार गर्न सहज हुने जनविश्वास छ ।

विगत सात वर्षदेखि सडकमा अलपत्र परेका र बेसहारा गाईबाच्छाको संरक्षण गर्दै आएको गोठाटारको यस संरक्षण स्थलले यसपटकको गाई तिहारलाई अझ विशेष बनाएको छ । यहाँ आश्रय पाइरहेका गाईहरूको आज विधिपूर्वक पूजा आराधना गरियो । संरक्षण स्थलका स्वयंसेवकहरू र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा आयोजित यस कार्यक्रमले गाई संरक्षणको महत्वलाई उजागर गरेको छ ।

गाई पूजापछि संरक्षण स्थलमै देउसी कार्यक्रम आयोजना गरियो । देउसेहरूले तिहारको शुभकामना आदानप्रदान गर्दै मनोरञ्जन प्रदान गरे । यस अवसरमा गाई संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले आर्थिक सहयोग पनि संकलन गरियो । यो कार्यक्रमले तिहारको सामाजिक र सांस्कृतिक महत्वलाई मात्र नभई, बेसहारा प्राणीहरूको संरक्षणमा सामूहिक प्रयासको आवश्यकतालाई पनि दर्शाएको छ ।

गाई तिहारले गोधनको सम्मान र संरक्षणको सन्देश दिएको छ । गोठाटारको असहाय गाईबाच्छा संरक्षण स्थलले परोपकार र मानवीयताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । सडकमा अलपत्र परेका गाईहरूको उद्धार र हेरचाहमा यस्ता संस्थाहरूको भूमिका अतुलनीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =