आज गाईतिहार : यस्तो छ गौ पूजाको धार्मिक महत्व

काठमाडौँ । नेपालीहरूको दोस्रो महान् चाड तिहार अन्तर्गत कार्तिक शुक्ल प्रतिपदाका दिन आज गाईको विशेष पूजा–आराधना गरी मीठो परिकार खुवाएर मनाइँदैछ । “गाई हाम्रो गौमाता, दूध दिने स्वर्गकी दाता” भन्ने लोकोक्तिलाई आत्मसात् गर्दै वैदिक सनातनकालदेखि नै गाईलाई पवित्र मानी पूजा गर्ने प्रचलन रहँदै आएको छ।
गाईको महिमा: धार्मिक तथा वैज्ञानिक पक्ष
गाईलाई केवल एक पशुका रूपमा नभई आमाका रूपमा सम्मान गरिन्छ । यसले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुने भएकाले यसलाई ‘गौमाता’ भनी सम्बोधन गरिन्छ । धर्मशास्त्रका अनुसार गाईमा ३३ कोटी देवीदेवताको वास हुन्छ भनिन्छ । आधुनिक विज्ञानले समेत स्थानीय जातका गाईको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई शक्ति प्रदान गर्ने तथ्य प्रमाणित गरिसकेको छ । गाईको गहुँतलाई विभिन्न रोगहरूमा औषधिको रूपमा समेत प्रयोग गरिन्छ ।
तिहारमा गाई पूजाको महत्व
आजका दिन गाईको पूजा गरी विभिन्न मीठा परिकारहरू, जस्तैः सेलरोटी, पिँडालु, गुँदपाक, आदि खुवाउनाले गाईबाट प्राप्त हुने शुद्धता सधैँ कायम रहने धार्मिक विश्वास छ । धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, यद्यपि नेपालका केही भाग र समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य भई प्रतिपदाको सुरुवातमा गाई पूजा गर्नु उपयुक्त हुन्छ ।
राष्ट्रिय जनावरको सम्मान र धार्मिक विश्वास
गाईलाई नेपालको राष्ट्रिय जनावरका रूपमा सम्मानका साथ राखिएको छ । यसको धार्मिक महत्व यति गहिरो छ कि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने हरेक शुभकर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर संकल्प गर्ने प्रचलन चलेको छ ।
गाई तिहारको अर्को महत्वपूर्ण पक्ष यसको परलोकप्रतिको विश्वास हो । साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन आजका दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारी स्वर्ग पुग्न मद्दत गर्ने धार्मिक विश्वास छ ।








