बालुवाटार बैठक

चुनावमा भाग लिन दलहरू तयार, सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने: सञ्चारमन्त्री (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागि हुन तयार भएका छन् ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा निर्वाचनमा सहभागी हुन सबै दलहरू तयार भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा सहभागी हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति संशय व्यक्त गरेको बताए । छलफलमा जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको सम्बन्धमा छानविन गरी दोषी उपर कारबाही गर्नुपर्ने माग दलहरूले राखेको मन्त्री खरेलले बताए ।


खरेल भन्छन्, ‘फागुन २१ गतेको निर्वाचनका सम्बन्धमा छलफल भयो, सुशासन र भ्रष्टाचार नियन्त्रणको बारेमा छलफल भयो । जेनजी आन्दोलनको क्रममा भएको तोडफोडको बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने विषयमा पनि छलफल भयो । सरकारको तर्फबाट निर्वाचनको वातावरण निर्माण गर्नको लागि गर्नुपर्ने कामहरूको सन्दर्भमा दलहरूसँग सेयरिङ गरेको छ । आयोगले गर्ने निर्वाचनको सुरक्षा, स्रोत र साधनको बारेमा पनि दलहरूलाई जानकारी गराएको छ । राजनीतिक दलहरूको तर्फबाट सुरक्षाको वातावरण अलि बढी मिलाउनुपर्ने कुराहरू आएको छ । सबै दलहरूले चुनावमा भाग लिने कुरा गर्नुभएको छ । चुनावमा भाग लिइरहँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने चासो रहेको छ ।’

फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन दलहरू तयार भए पनि त्यसको लागि सुरक्षाको प्रबन्ध सरकारले गर्नुपर्ने धारणा दलहरूको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =