सर्वदलीय बैठकका निर्णयहरू

सरकार उत्साहित छ, तोकिएकै समयमा निर्वाचन गराऔँ: प्रधानमन्त्री (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छिन् । राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको सचिवालयले जनाएको छ ।

दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनी भन्छिन् , “यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो । सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन ।”

राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गरिन् । “चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,” उनले भनिन् ।


बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अधिकांश दलका नेताहरूले शान्ति सुरक्षाको यथेष्ट प्रत्याभूति नभएको, सुरक्षा निकायमा आत्मविश्वास नदेखिएको तथा आम नागरिकमा पनि निर्वाचन हुन्छ भन्ने विश्वास नभएको सम्बन्धमा धारणा राख्नुभएको जानकारी दिए ।

साथै उनले यस्तो अवस्थामा निर्वाचनमा जाने हो भने सरकारको सम्पूर्ण ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने, शान्ति सुरक्षाको सम्पूर्ण रूपमा प्रत्याभूति गर्नुपर्ने र सरकारकै कतिपय अभिव्यक्तिले आपसी विश्वास खलबल्याउने तर्फ सजग हुनुपर्ने सुझाव दिएको बताए ।


प्रवक्ता डा महतले विश्वास दिलाउने काम सरकारको भएको र यो सरकारको म्यान्डेट नै निर्वाचन भएको बताउँदै निर्वाचनमार्फत मुलुकको राजनीतिलाई मूल प्रवाहमा फर्काउन कांग्रेस निर्वाचनमा जान तयार रहेको बताए ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन आज विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए ।


संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।

त्यसै गरी छलफलमा नेपाली काङ्ग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =