करिब ४० करोड बराबरको झिलिमिली बत्ती विक्री हुने अपेक्षा

काठमाडौँ । उज्यालो पर्व दीपावलीले अर्थतन्त्र पनि चलायमान बनाएको छ । उपभोक्ताले थरीथरीका झिलिमिली बत्तीहरू किन्दा ठुलो रकम बजारमा पुग्ने गरेको छ भने यसले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउ पुगेको हो ।

व्यवसायीहरुकाअनुसार अहिले विभिन्न थरीका झिलिमिली बत्तीहरू किन्न बजारमा उपभोक्ताको घुइँचो लागेको छ । ती बत्तीहरू नेपालमा बनेका भने होइनन् । खासगरी चीनबाट बढी आइरहेका त्यस्ता झिलिमिली बत्तीहरूले बजार हिस्सा बढी ओगटेका छन् । तिनै बत्तीहरूमा उपभोक्ता झुम्मिइरहेका छन् । उज्यालोको पर्व दीपावलीमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती विक्री हुने व्यवसायीहरूको भनाइ छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले यस वर्षको तिहारमा पनि बत्तीको कारोबार राम्रै देखिएको बताए । यद्यपि विगतका वर्षहरूको तुलनामा बत्तीहरूको व्यापार केही घट्नसक्ने उनको भनाइ छ । घर निर्माणहरू कम हुँदै गएको र एकपटक किनेको बत्ती पुनः प्रयोग गर्न मिल्ने भएकाले पनि कारोबारमा केही घट्ने अनुमान गरिएको छ ।

बजारमा झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन् । न्यूनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुन्छन् । विभिन्न रङमा बल्ने–निभ्ने यस्ता बत्ती उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेस मल लगायतको सजावटका लागि अत्यधिक प्रयोग गर्छन् । उनका अनुसार खासगरी तिहार सकिने बित्तिकै छठ पर्व सुरु हुने भएकाले व्यवसायीहरूले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात हुने गरेको छ । अहिले काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका सहरमा यस्ता बत्तीको माग बढ्दै गएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घ अध्यक्ष सापकोटाले भने–‘यो तिहार वास्तवमै उज्यालो र झिलिमिलीको पर्व हो । हामी बिजुली व्यवसायीका लागि यो विशेष समय हो, किनभने उज्यालो फैलाउने हाम्रो पेसासँगै जोडिएको पर्व भएकाले हामी सबै यसमा उत्साहित छौँ । अहिले बजारमा झिलिमिलीका सामानहरू — विभिन्न प्रकारका लिड लाइटहरू, मालापातिहरू, झ्याल–ढोका सजाउने डिजाइन लाइटहरू, र अन्य विद्युत् सजावटी सामग्रीहरूको बिक्री–वितरण राम्रो भइरहेको छ ।

व्यापार राम्रो भए पनि गत वर्ष र त्यसअघिका दुई–तीन वर्षको तुलनामा भने केही सङ्कुचन देखिएको छ । यसको मुख्य कारण, अहिले बजारमा आएका धेरै सामानहरू टिकाउ खालका छन् । एकचोटि लगाइयो भने दुई–तीन वर्षसम्म चल्ने । अर्को कारण भनेको निर्माण कार्य केही कम हुनु हो । निर्माणको गति घटेपछि, त्यससँग सम्बन्धित सजावटी सामानहरूको बिक्री पनि अलिकति घट्ने नै हो ।

हाम्रो व्यवसाय भने वर्षभरि चल्ने हो, तर दीपावलीको समयमा झिलिमिली सामग्रीको विक्री धेरै बढ्छ । यो समयमा ‘रोप लाइट’, ‘१०० एलईडी’ र ‘२०० एलईडी’ भनिने आइटमहरू धेरै चल्छन् । ती १० मिटरदेखि २० मिटर लम्बाईका हुने गर्छन्, जसले दुईदेखि पाँच तल्लासम्मका घरहरू सजाउन सकिन्छ । यस वर्ष करिब ४० करोड रुपैयाँ बराबरको विक्री भएको छ । यसअघि केही सामान रोकिएका थिए, तर अहिले अधिकांश आइटम बजारमा आइसकेका छन् । अहिले तिहारको अन्तिम चरणसम्म बिक्री भइरहे पनि तराई क्षेत्रमा छठ पर्वसम्म यो माग रहन्छ ।’

उनकाअनुसार त्यस्ता सामान आपूर्ति प्रायः चीनबाट सामान ल्याउने गरिएको थियो । तर रसुवा र तातोपानी नाकामा बारम्बार बाटो बिग्रिने समस्या हुँदा यस वर्ष पनि केही असहजता भोग्नुपर्‍यो । जसकारण धेरै व्यवसायीहरूले वैकल्पिक रूपमा कलकत्ता, वीरगन्ज, विराटनगर, भैरहवा, र नेपालगन्ज हुँदै सामान ल्याएका छन् ।

यसरी ल्याउँदा ढुवानी खर्च केही बढ्यो तर समयमै सामान बजारमा पुग्ने भएकाले व्यवसायीहरूलाई सहज भएको छ ।

गत वर्ष तिहारमा मगाएका समान तिहारपछि मात्र आइपुगेका थिए । जसले गर्दा व्यापारीहरूलाई ठुलो क्षति भएको थियो । गोदाम भाडा, ब्याज, र अन्य खर्चहरू तिर्नुपर्ने स्थिति आएको थियो । यस्तै कठिनाइहरू यसपटक दोहोरिन नदिन व्यवसायीहरूले वैकल्पिक आपूर्ति मार्ग अपनाएको उनको भनाइ छ । सापकोटाकाअनुसार अहिले नयाँ डिजाइनका ‘वाटरफल’ लाइटहरूले बजार लिएका छन् । यी लाइटहरू सामाजिक सञ्जाल, जस्तै टिकटक र फेसबुकमा धेरै देखिन थालेका कारणले ग्राहकहरू तिर झन् आकर्षित भएका छन् । यो लाइट सजिलै जडान गर्न सकिने भएकाले इलेक्ट्रिसियनको सहयोग नचाहिँदा घरधनीले आफैँले पनि सजाउन सक्छन् । बगिरहेको जस्तो झरना–शैलीको प्रकाश देखिने भएकाले घरमा निकै सुन्दर देखिने गरेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सापकोटले हाल बजारमा माग अनुसार पर्याप्त सामान उपलब्ध रहेको जानकारी दिए ।

‘कहिलेकाहीँ केही एक–दुई आइटममा अभाव देखिए पनि त्यसका विकल्प धेरै छन् । ग्राहकले यदि एउटा आइटम नपाए पनि हामी त्यसको विकल्प तुरुन्त उपलब्ध गराउन सक्छौँ । अहिले शहरी क्षेत्रमा चार–पाँच तल्लासम्मका घरहरूमा झिलिमिली लाइटहरूको माग बढी छ भने ग्रामीण क्षेत्रमा दुई–साढे दुई तल्लासम्मका घरका लागि छोटा र मध्यम लम्बाइका लाइटहरू बढी विक्री भइरहेका छन्,’ उनले भने ।

यस्तै काठमाडौँ विद्युत् व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीले पनि विगतका वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तीको बिक्री सन्तोषजनक नरहेको बताए । उनका अनुसार अनुसार कोभिडपछिदेखि विद्युत् व्यवसाय निरन्तर घट्दो क्रममा छ । निर्माण कार्यमा आएको सुस्ती र देशको राजनीतिक अनिश्चितताले बजारमा नकारात्मक असर पारेको छ । उनका अनुसार २०७६÷७७ सालदेखि सुरु भएको घट्दो व्यापार अहिले सम्म आइपुग्दा करिब १५ देखि २० प्रतिशतले घटेको छ । अहिले बजारमा भिडभाड देखिए पनि बिक्री अपेक्षाअनुसार बढ्न सकेको छैन ।

अध्यक्ष सिवाकोटीले भने ‘यो समयमा झिलिमिली र विद्युत् सामग्रीहरूको व्यापार चल्ने मुख्य सिजन हो । तर हालको अवस्था हेर्दा, कोभिडपछिदेखि यो व्यवसाय निरन्तर घट्दो क्रममा छ । निर्माण क्षेत्र सुस्त भएपछि, त्यसको सिधा असर हाम्रो विद्युत् व्यवसायमा परेको छ । देशको समग्र आर्थिक र राजनीतिक अनिश्चितताले पनि बजारमा नकारात्मक प्रभाव पारेको छ । त्यसैले यो वर्षको व्यापार गत वर्षको तुलनामा कमजोर छ । २०७६/७७ सालदेखि निरन्तर घट्दो क्रममा आएको व्यापार अहिले सम्म आइपुग्दा करिब १५ देखि २० प्रतिशतले घटेको देखिन्छ । अहिले बजारमा अलि भिडभाड त देखिन्छ, तर बिक्रीको हिसाबले सन्तोषजनक छैन ।’

उनकाअनुसार ग्राहकहरूको रुचि भने परिवर्तन हुँदै गएको छ । पहिले साना र सस्ता आइटमहरूमा बढी ध्यान दिने ग्राहक अहिले अलि आधुनिक र प्रविधियुक्त सजावटी लाइटतर्फ आकर्षित भएका छन् । सामाजिक सञ्जाल—जस्तै टिकटक र फेसबुकमा देखिने नयाँ डिजाइनहरू र घरमै सजाउन सकिने सुविधाजनक झिलिमिलीहरू अहिलेको मुख्य आकर्षण बनेका छन् । यी नयाँ प्रकारका सामानहरू आकर्षक त छन् नै, सजिलै जडान गर्न मिल्ने भएकाले धेरै ग्राहकहरू आफैँले घर सजाउने प्रवृत्तिमा गएका छन् । त्यसैले अहिले बजारमा ‘एडभान्स टेक्नोलोजी’ र ‘सेल्फ–इन्स्टलेसन’ प्रकारका झिलिमिली सामग्रीको माग बढी छ ।

समग्रमा अहिलेको बजारमा व्यापार घट्दो भए पनि प्रविधिमा आधारित नयाँ उत्पादनहरूप्रति ग्राहकहरूको चासो बढ्दो रहेको र व्यवसायीहरूका लागि पनि चुनौती र अवसर रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =