मनाइयो कुकुर तिहार (फोटो/भिडिओ)

दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रित वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।

मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

ऋग्वेदमा कुकुर
ऋग्वेदमा स्पष्ट रूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रूपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।

महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्ग को प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।

आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिराइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाइदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो ।


आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।

तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =