कुकुर तिहारको धार्मिक महत्व : यमराजका द्वारपालदेखि स्वर्गयात्राका साथीसम्म !

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई विशेष पूजा गरी मीठा खानेकुरा दिँदै कुकुर तिहार मनाइएको छ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन मनाइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईले नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाउनाले यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले राससलाई दिएको जानकारीअनुसार यही विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक, भरपर्दो सुरक्षाकर्मी र इमान्दार घरपालुवा जनावरका रूपमा लिइन्छ।

आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थस्थल, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ। यसरी बत्ती बालेर बगाउनुलाई ‘नरके बगाउने’ भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ। यसैले तिहारलाई स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =