तिहारको मुखमा टोपी व्यापार सुस्त, व्यापारी निराश

काठमाडौं । यस वर्षको तिहारको संघारमा पनि टोपीको व्यापारमा सुस्ती छाएको छ । जेन-जी आन्दोलनले निम्त्याएको तोडफोड, आगजनी र लुटपाटले समाज अस्तव्यस्त भइरहेका बेला आएको तिहारमा पनि टोपीको व्यापारले गति लिन नसकेको काठमाडौंका व्यापारीहरूले बताएका छन् । विगतका वर्षहरूमा जस्तो व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी ज्योति मानन्धरले जानकारी दिए ।
राजनीतिक अस्थिरताका कारण तिहारजस्तो महत्वपूर्ण चाडमा पनि व्यापार हुन नसकेकोमा उनले दुखेसो पोखे । तिहारमा दाजुभाइलाई उपहारस्वरूप टोपी दिने प्रचलन रहे पनि यस वर्ष त्यसको व्यापार नहुँदा व्यापारीहरू निराश बनेका छन् । ‘यसपालि त्यति व्यापार छैन,’ व्यापारी मानन्धरले भने, ‘पहिलाको जस्तो व्यापार छैन । राजनीतिले होला व्यापार नभएको । टोपी दाजुभाइलाई तिहारमा उपहार दिने चलन भए पनि व्यापार हुन सकेन ।’
आइतबार तिहारको पहिलो दिन हो । अझै दुई-तीन दिन व्यापार हुनेमा भने व्यापारीहरू आशावादी छन् । नेपालमा तिहारलाई दोस्रो ठूलो चाडका रूपमा मनाइन्छ । यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै टोपीलगायतका उपहार दिने गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने गर्छन् ।








