तिहारको उज्यालोले चम्कियो काठमाडौंका बत्ती बजार, व्यवसायी उत्साहित

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै राजधानीका बत्ती बजारमा रौनक छाएको छ । ‘उज्यालोको पर्व’ का रूपमा मनाइने तिहारमा घर आँगन सजाउन प्रयोग गरिने झिलिमिली बत्तीको माग ह्वात्तै बढेपछि व्यवसायीहरू उत्साहित बनेका छन्। विशेषगरी लक्ष्मी पूजाको दिन घरलाई झिलिमिली बनाउने प्रचलनले गर्दा यो सिजन बत्ती व्यवसायीका लागि ‘सुनौलो अवसर’ बनेको छ। उनीहरू यो वर्ष पनि राम्रो आम्दानी हुनेमा आशावादी देखिएका छन् ।

उज्यालो र समृद्धिको प्रतीक तिहारमा रंगीचंगी बत्ती तथा सजावटका सामग्रीको माग चुलिने भएकाले व्यवसायीहरू लगानी गर्न र व्यापार विस्तार गर्न व्यस्त छन्। तिहारका पाँच दिनमा घर, कार्यालय, मन्दिर र सार्वजनिक स्थलहरू बत्तीले झलमल्ल पार्ने परम्पराले बत्तीको माग उच्च बनाउँछ। नकारात्मक शक्तिलाई टाढा राख्ने विश्वासमा बालिने यी बत्तीहरूको सांस्कृतिक तथा धार्मिक महत्त्व पनि छ।

यस वर्ष ऊर्जा बचत गर्ने एलईडी र सोलार बत्तीको माग बढेको व्यापारीहरू बताउँछन्। नयाँ बत्ती व्यवसायी ज्याकिर हुसेनले दैनिक १५ सयदेखि २० हजार रुपैयाँसम्मको व्यापार भइरहेको बताए। उनले भने, ‘यो वर्ष पहिलो पटक बत्ती व्यवसाय सुरु गरेको हुँ। बजार मागअनुसार राम्रो आम्दानी भए अर्को वर्ष फूलमाला र अन्य सजावटका सामानमा पनि विस्तार गर्नेछु।’

लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएकी सरिता सोनीले गत वर्ष तिहारमा १ देखि २ लाख रुपैयाँको कारोबार गरेको जानकारी दिइन्। उनले भनिन्, ‘यो वर्ष अझ बढ्ने आशा छ। हामीले १५० देखि ३ हजार रुपैयाँसम्मका बत्ती राखेका छौँ, जसले मध्यम वर्गका ग्राहकलाई लक्षित गर्छ।’

तिहारले सयौँ अस्थायी रोजगारी पनि सिर्जना गर्दछ। सिजनल कामदार, ट्रान्सपोर्टर र स्टोरका कर्मचारीहरूले थप आम्दानीको अवसर पाउँछन् । बजारमा मैनबत्ती, विद्युतीय र वातावरणमैत्री बत्तीको मागले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =