दल खोल्नै पर्ने अवस्था आयो तर तत्कालकै अवस्थामा निर्वाचनमा जाँदैनौँ: मिरज ढुंगाना

काठमाडौँ । जेनजी युवा मिरज ढुंगानाले नयाँ दलको घोषणा गर्ने भएका छन् ।
शुक्रवार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
उनले जेनजी आन्दोलनले नेपालमा एउटा नयाँ अवसर ल्याएको बताएका छन् । उक्त आन्दोलन जेन्जीबाट भएपनि त्यस क्रान्ति ल्याउनमा सबै नेपालीहरूको सहभागिता रहेको उनले बताए ।
त्यसपश्चात उनले राजनीतिक दल खोल्नै पर्ने अवस्था आएको भन्दै तत्कालकै अवस्थामा निर्वाचनमा नजाने जानकारी दिए ।
उनले भने ‘अब हामीले पोलिटिकल पार्टी खोल्नै पर्ने अवस्था देखेका छौँ । तर पोलिटिकल पार्टी खोल्नुको अर्थ यो होइन की हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौँ ।’
उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक स्तरको संस्था नबनेसम्म निर्वाचनमा नजाने बताए ।
यसका साथै उनले आमूल परिवर्तन ल्याउन शान्तिपूर्ण रुपमा डटेर लाग्ने भन्दै हाललाई पार्टी गठन वार्ता समिति तयार गरेका जानकारी दिए ।








