एमाले केन्द्रीय कमिटी बैठक : १९७ सदस्यले बोले, अब ओलीले जवाफ दिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलमा तेस्रो तथा अन्तिम दिन आज पनि जारी रहने भएको छ । बिहान ८ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्ना विचार र सुझाव राख्ने क्रम जारी रहनेछ ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यसअघि बुधबार र बिहीबार गरी १९७ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ-आफ्ना धारणा राखिसकेका छन् । प्रत्येक सदस्यलाई आफ्ना विचार व्यक्त गर्न तीन मिनेटको समय दिइएको थियो ।
बैठकको कार्यतालिका अनुसार, आज केन्द्रीय सदस्यहरूको सुझाव सुनिसकेपछि पदाधिकारीहरूले प्रतिवेदनमाथि आफ्ना धारणा राख्नेछन् । त्यसपश्चात्, अध्यक्ष ओलीले बैठकमा उठेका जिज्ञासा र सुझावहरूको एकमुष्ट जवाफ दिई बैठकको समापन गर्ने तयारी छ ।








