निर्वाचन आयोग र राजनीतिक दलहरूबीच संवाद सुरु

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद सुरु भएको छ ।
बिहीबार बिहान निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरूसँगको छलफल सुरु भएको हो । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मिति तोकेको छ । राजनीतिक दलहरूसँग निर्वाचनबारे कुनै छलफल नै नगरिएको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ ।
नेकपा एमालेसहितका नेपाली काँग्रेस लगायत राजनीतिक दलहरूले संसद पुनः स्थापना हुनुपर्ने माग गरेका छन् । नेकपा एमालेले संसद पुनः स्थापनाका लागि अदालत जाने निर्णय समेत गरिसकेको छ भने नेपाली काँग्रेसले पार्टीको केन्द्रीय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्नेछ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरूले भने निर्वाचनको तयारी थाल्ने बताइसकेका छन् । निर्वाचन आयोगले बोलाएको बैठकमा नेकपा (माओवादी केन्द्र) का देव गुरुङ, लीलामणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन् ।
निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा।जानकीकुमारी तुलाधार र निर्वाचन आयुक्त सगुन शमशेर जबरा सहभागी छन् ।








