किसान भन्छन्- देशमै पर्याप्त फूल छ, तिहारमा आयात गर्नुपर्ने अवस्था छैन (भिडिओ)

काठमाडौं । नेपालीहरूको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तीव्र रूपमा बढेको छ । झिलीमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्त्व दिइन्छ ।

अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरूमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रायः घरहरूमै आफूलाई आवश्यक फूल उत्पादन हुन्थ्यो ।

तर यस वर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूल खेती गर्ने किसानहरू राम्रो आम्दानी हुने आशामा रहेका छन् । फूल उत्पादनले आत्मनिर्भरता त बढाएको छ नै साथै आयात प्रतिस्थापनमा समेत योगदान पुर्‍याइरहेको छ । नेपालमा माग धान्न अघिल्ला वर्षहरूमा भारतबाट फूल आयात गरिन्थ्यो । तर अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फूल उत्पादन गरिएको हुँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।

देशभरमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौंमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरूमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको थियो ।

तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएका बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =