कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइयो

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अदालतको आदेशअनुसार महरालाई राजधानीको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) पठाइएको हो ।

श्रेष्ठका अनुसार मंगलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि अदालतले महरालाई थुनामा पठाउने आदेश जारी गरेको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख महरालाई गत आइतबार पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याएको माल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

१० पुस २०७९ मा फ्लाई दुबईको एफजेट ०५८७ नम्बरको फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा भेप देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती वस्तु नियन्त्रणमा लिएको थियो । हानसोङ भने पासपोर्ट फिर्ता लिएर भोलिपल्टै काठमाडौं छाडेका थिए ।

उक्त भेपमा सुन लुकाइएको सूचना पाएपछि विमानस्थलका केही कर्मचारीले ती भेपहरू साटेको आशंका गरिएको छ । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धानको लागि आग्रह गरेको थियो ।

झण्डै दुई महिनासम्मको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारका नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर ग¥यो । साथै, पूरक अभियोजनमार्फत चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई समेत मतियारका रूपमा मुद्दामा समावेश गरिएको छ ।

महरा पनि सो प्रकरणमा संलग्न रहेको आशंकामा केही दिनअघि बयान लिइएको थियो । अनुसन्धानपछि प्रमाणहरू बलियो देखिएपछि उनलाई पक्राउ गरी थुनामा पठाइएको सीआईबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =