राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसक्यो: राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको बताएका छन् ।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले पार्टी महाधिवेशनको तयारीमा लागेकोले सबैलाई एकजुट हुन पनि आग्रह गरे । महाधिवेशनको मिति घोषणा गर्नुपर्ने, कारबाहीमा परेकाहरूलाई फुकुवा गर्नुपर्ने लगायतका मागसहित राप्रपाका महामन्त्रीदय धवल शमशेर जबरा र कुन्ति शाहीले भने बैठक बहिस्कार गरेका थिए ।
अध्यक्ष लिङदेनले महामन्त्रीहरूको माग बुधवार बसेको कार्यसम्पादन समितिको बैठकले सम्बोधन गरेको पनि दाबी गरे । महाधिवेशनको नै उनको मुख्यमा माग भएकोले महाधिवेशनको मिति तय गर्नको लागि केन्द्रीय समितिको बैठक बोलाइएको पनि उनले जानकारी दिए । राप्रपाले कात्तिक २७ र २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । उक्त बैठकको मूल मुद्दा नै महाधिवेशनको मिति तय गर्ने हुने उनले बताए ।
उनले देशभर जिल्ला अधिवेशनको तयारी भइराखेको पनि जानकारी दिए । असोज मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनिए पनि बाढी पहिरो, जेनजी आन्दोलन, चाडपर्व लगायतका कारण गर्न नसकिएको उनले बताए । उनले स्थानीय, जिल्ला र प्रदेश समितिको अधिवेशन गर्ने म्याद मंसिर मसान्तसम्म थपेको जानकारी दिए ।
उनले भने ‘महामन्त्री द्वय धवल शमशेर राणा र कुन्ति शाहीले बैठकमा एउटा पत्र पठाएर आजको बैठकमा अनुपस्थित हुने र केही विषयहरू उहाँहरूले ध्यानाकर्षण गराउनुभएको छ । जुन उहाँहरूले सार्वजनिक रूपमा पनि भन्दै आउनुभएको छ तर त्यो उहाँहरूले जे जे विषय उठाएपनि त्यसलाई सम्बोधन गर्ने नगर्ने भन्ने कुरा त पार्टीको आन्तरिक छलफलबाट टुङ्गो लाग्ने विषय हो । उहाँहरूको विषय पार्टीको आन्तरिक फोरममा उहाँहरू समेत उपस्थिति भएर छलफल हुनुपर्ने विषय हो । तर उहाँहरूले चिठी पठाएर अनुपस्थिति जनाउनुभएको छ । त्यस विषयमा पनि बैठकमा छलफल भएको छ । उहाँहरूले भन्नुभएका धेरै कुरा पार्टीले अगाडी नै बढाइसकेको छ । मूल रूपमा महाधिवेशनको कुरा हो, महाधिवेशनको प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिसकेको छ । देशभर जिल्ला अधिवेशनको तयारी भइराखेको छ । हामीले असोज मसान्तसम्ममा जिल्ला अधिवेशन सक्ने भनेर भनेका थियौँ । बाढी पहिरो, जेनजी आन्दोलन, चाडपर्व यी सबैले गर्दाखेरि अधिवेशन समयमा सम्पन्न हुन सकेन, त्यसको म्याद मंसिर मसान्तसम्म थपेका छौँ । हामीले कात्तिक २७ र २८ गते केन्द्रीय कार्यसमितिको बैठकको मिति पनि आज निर्णय गरेका छौँ । केन्द्रीय कार्यसमितिको मूल एजेण्डा नै आगामी महाधिवेशन हुने हुनाले केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको पनि मिति तय गर्छ ।’
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक, व्यक्तिगत आग्रह, पूर्वाग्रहभन्दा देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूको बीचमा वृहत् राष्ट्रिय सहमति गर्न आग्रह गरेको छ । जेन—जी समूह, विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नवीन समझदारी गरेर कसैले नहार्ने, सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गर्नुपर्नेमा राप्रपाले जोड दिएको छ । उक्त कार्यको लागि तत्काल सार्थक पहल र संवादको लागी राप्रपाले आह्वान समेत गरेको छ ।
राप्रपाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने, आसन्न निर्वाचनको बारेमा छठ पछि देशभर जनसंवाद गर्ने, शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन, सुरक्षित लगानीको वातावरण बनाउन एवं व्यवसायी र व्यावसायिक प्रतिष्ठानलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्ने, जेन—जी आन्दोलनका नाममा भइरहेका चन्दा असुली, भोटेकोशी लगायतका जलविद्युत आयोजनामा निःशुल्क शेयर माग, सार्वजनिक पदाधिकारीहरूलाई दिएको अनावश्यक दबाब जस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णय गरेको छ ।
बैठकले राप्रपा जुम्लाका अध्यक्ष वेदबहादुर शाही, उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मन्सुर सुनारलाई एक वर्षको लागि निलम्बन समेत गरेको छ ।








