सभापति देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफ्नो स्वास्थ्य अवस्थाका कारण कार्यवाहक तोकिएको जानकारी दिएका हुन् ।
‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्नेगरी तोकेको छु,’ देउवाले बैठकमा भने, ‘उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’
जेनजी आन्दोलनपछि सभापति देउवा पहिलोपटक सार्वजनिक भएका हुन्। सम्बोधनका क्रममा उनले नेपालको संविधान जोखिममा परेको दाबी गर्दै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक र अलोकतान्त्रिक तवरले विघटन गरिएको आरोप लगाए ।
देउवाले सरकारद्वारा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको मितिलाई औंल्याउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण नबनेको बताएका छन् । ‘सरकारले निर्वाचनको मिति तोकेको छ, तर निर्वाचनको वातावरण बनेको छैन,’ उनले भने ।








