पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सरकारी वकिल कार्यालयले हिजो काठमाडौं जिल्ला अदालतमा महराविरुद्ध अभियोग पत्र दर्ता गरेसँगै यो प्रक्रिया अघि बढेको हो ।

अभियोगमा महरासँग ८ करोड ५५ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ भने उनलाई ३ वर्ष कैद सजायको माग गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत आइतबार महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो ।

यो प्रकरण २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन तस्करीसँग सम्बन्धित छ । यसअघि नै मुद्दा चलिरहेको उक्त प्रकरणमा महरालाई पूरक अभियोगमा मात्र प्रतिवादी कायम गरिएको हो ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा दोषी ठहर गर्दै उनीमाथि पुनः मुद्दा चलाउन सिफारिस गरेपछि यो अनुसन्धान अगाडि बढेको थियो । आजबाट सुरु हुने थुनछेक बहसले महरालाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे अदालतले निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =