नियमित महाधिवेशनको अडानमा शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीको नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका छन् ।
औपचारिक तथा अनौपचारिक छलफलमा नेता कोइरालाले पार्टीको नियमित महाधिवेशन नै उत्तम विकल्प रहेको बताएका छन् ।
केही दिन अघि सम्पन्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पनि कोइरालाले नियमित महाधिवेशनको प्रस्ताव गरेका थिए । उनले जेनजी पुस्ताको माग अनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताउँदै यही मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका हुन् ।
‘पार्टीको महाधिवेशन गर्ने उपयुक्त समय यही हो, कुनै पनि बहानामा महाधिवेशन सार्ने काम गर्नुहुँदैन,’ नेता कोइरालाले भने, ‘जेनजी पुस्ताको भावना र विशेष परिस्थितमा नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्छ ।’
उसो त, काँग्रेसमा विशेष महाधिवेशनका लागि नेताहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । काँग्रेस संस्थापनले नियमित महाधिवेशन गर्न नचाहेपछि सभापति शेरबहादुर देउवालाई दबाब दिन नेताहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् ।
उसो त, नेता कोइरालाले विगत देखी नै नियमित महाधिवेशनका लागि आवाज उठाउँदै आएका थिए । उनले देशभरका कार्यकर्ताहरूलाई नियमित महाधिवेशनका लागि नेतृत्वलाई दबाब दिन आग्रह गर्दै आएका थिए ।
काँग्रेसको संस्थापन इतरपक्षका नेता समेत रहेका कोइराला भने विशेष महाधिवेशनले सकारात्मक सन्देश नजाने भन्दै पार्टीको नियमित महाधिवेशनको पक्षमा रहेका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । चार वर्षे कार्यकाल यही मंसिरमा सकिने भएकाले त्यस अवधिमै नियमित महाधिवेशन गर्नुपर्ने उनको भनाई छ ।








