मिथिलाको पहिरनलाई जगेर्ना गर्न सांस्कृतिक पहिरन अभियान सुरु

काठमाडौँ । मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले सांस्कृतिक पहिरन अभियान सुरु गरेका छन् ।
जनकपुरधाममा युवायुवतीहरू धोती, कुर्ता तथा सारी लगाएर जम्मा भई अभियानको सुरुवात गरेका हुन् ।
पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले आफूहरूले संस्कृति पहिरन अभियानको सुरुवात गरेको युवा मोहन महतो कोइरीले बताए ।
यसका साथै युवतीहरूमा समेत सारी फेशनको रूपमा मात्रै प्रयोग गर्ने गरिएकोमा युवतीहरूले चिन्ता व्यक्त गरे । धोती कुर्ता तथा सारी लगाएका दर्जनौँ युवायुवती गंगासागरमा जम्मा भएर जनकपुरधामस्थित जानकी मन्दिर पुगेका थिए ।
मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुले नै जोगाउनुपर्छ भन्ने आफूहरूको उद्देश्य रहेको उनीहरूको भनाई छ । धोती, कुर्ता, सारी सहितको संस्कृति पहिरन लगाएर जनकपुरधाम आई पुगेका युवा युवतीहरूले मैथिली विकास कोषको भवनमा पुगेर सांस्कृतिक पहिरन जोगाउनका लागि आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा विचार विमर्श समेत गरेका थिए ।








