नेपाललाई विपद् प्रतिकार्यमा थप सहयोग गर्न तयार छौँ : संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ ।
शुक्रवार अपरान्ह सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटवार्तामा पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनस्र्थापनाबारे छलफल भएको छ ।
भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खास गरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा पुनस्र्थापनाका भइरहेको पहलहरूबारे जानकारी गराए ।
त्यसक्रममा, कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात् जनधनको क्षति कम गर्न भएका पूर्व सूचना, पूर्व कार्य र प्रतिकार्य पहलहरूबारे पनि उल्लेख गरे ।
उनले बाढीले परेको प्रभावबारे जानकारी लिएका र आफूले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताएको जानकारी दिए ।
राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले सबैभन्दा धेरै प्रभावित भएको इलाममा खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइ सम्बन्धी सहयोग र पुनस्र्थापनाका लागि संयुक्त राष्ट्रसंघीय निकायहरूले तत्काल उपलब्ध गराउन सक्ने सहयोगबारे जानकारी गराएको बताए ।
आवासीय संयोजक हाम्डीले नेपाल सरकार र प्राधिकरणले विपद् प्रतिकार्यमा गरेका पहलहरूको प्रशंसा पनि गरेका थिए ।








