जिप दुर्घटनाका गम्भीर घाइतेको उद्धार गर्न सेनाको हेलिकप्टर हुम्ला प्रस्थान

काठमाडौं । हुम्लाको चंखेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनालाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर उडेको छ ।

दुर्घटनामा परेका घाइतेलाई प्रारम्भिक उपचारका लागि पिप्लाङ बर्थिङ सेन्टरमा ल्याइएको भए पनि, त्यहाँको उपचार क्षमता सीमित भएकाले थप उपचारको लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ ।

दुर्घटना हुम्ला जिल्लाको चंखेली गाउँपालिका–४ बेशी खोला स्थित भित्री सडक खण्डमा भएको हो ।

मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भइ ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

घटनास्थलबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट हुम्लाको लागि उडेको जानकारी हुम्लाका डीएसपी शंकर पोखरेलले दिएका छन् ।

हेलिकप्टरमार्फत घाइतेहरूको उपचारका लागि थप सघन उपचार केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =