नौ वर्षमा पनि बनेन चिस्यान गृह

पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ ।
आर्थिक वर्ष ०७३/७४ मा पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो ।
बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यान गृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।
स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यान गृह एक तला बनेपछि अलपत्र अधुरो छ ।
हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यान गृह निर्माण गर्ने सम्झौता भएर एक तल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ ।
आफ्नै घर आँगनमा चिस्यान केन्द्र बनेका देख्दा उत्साहित किसान त्यसले पूर्णता नपाउँदा खिन्न छन् ।
स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा १३ लाख ५० हजार मा खरिद गर्ने गरी तमसुक गरिएको थियो ।
चिस्यान गृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो, तर २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । २४ लाख विनियोजन भएपछि काम सुरु गरिहाल्यौँ’, उनले भनिन्, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।
योजनाअनुसार ५० टन क्षमताको दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो ।
मोदी गाउँपालिका–२ देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यान केन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भए पनि सुनुवाइ नभएको बताइन् ।
जग्गा व्यवस्थापनको लागि वडाबाट १५ लाख विनियोजन पनि गरेको भए पनि जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न नसकेको उनले बताइन् ।
मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि रु चार करोडभन्दा बढीको सुन्तला उत्पादन हुन्छ । क्याङ र लेस्पार आलु उत्पादनको लागि उर्वर भूमि हो । यहाँको आलु र सागसब्जीको बीउ स्थानीय बजारलगायत सदरमुकाम कुस्मा र पोखरासम्म बिक्री हुने गरेको छ ।








