राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरुरी छ : प्रधानमन्त्री कार्की (भिडिओ)

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन् । जेन-जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले युवाहरूले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्नुपर्ने बताइन्। क्रान्तिपछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने उनले बताइन्। युवाहरूको बलिदानपछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको पनि उनले बताइन्। एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरूको भावनालाई आफूले सम्मान गर्ने पनि उनले बताइन्। विगतका सरकारहरूले युवाहरूका आवाज सुन्न र उनीहरूको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने उनले बताइन्। युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको बताउँदै नयाँ मार्गमा अघि बढिरहेको पनि उनले जिकिर गरिन्।
उनले भनिन्, ‘युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात् गर्न जरुरी छ। यो क्रान्तिपछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ। हाम्रा युवाहरूको बलिदानपछि राजनीतिक र आर्थिक सुधारका तीव्र चाहना छन्। देशमा विधि र न्यायको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना छ। युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ। एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम छ। उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरूले युवाहरूका आवाज सुन्न सकेनन्। उनीहरूको माग सम्बोधन गर्न सकेनन्। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ। हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौँ। नयाँ मार्गमा अघि बढिरहेका छौँ। यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ।’
उनले राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरुरी रहेको पनि बताइन्। आन्दोलनका पीडित र घाइतेहरूको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको पनि उनले बताइन्। उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको पनि उनले जिकिर गरिन्। भ्रष्टाचार, बेरोजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिबद्ध रहेको पनि उनले बताइन्। भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने पनि उनले बताइन्।








