हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले वषौैँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन् । ‘फुसको छानो हुँदा धेरै समस्या थियो”, उहाँले भन्नुभयो, “म एकल महिला भएकाले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।’

गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उनका अनुसार प्रतिघर ७५ हजार बराबरको सहयोग गरिएको छ । ‘आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,’ निरौलाले भने, ‘छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।’

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए । दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म ४०५ परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =