बिपी महामानव होइनन्, राजनेता हुन् : केशरबहादुर विष्ट

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोइरालालाई महामानव भन्न नहुने बताएका छन् । बीपी कांग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बीपी महामानव नभइ राजनेता भएको तर्क गरे। उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गरे । बीपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको बताए । बीपीले समयानुसार मुलुकको माटो, गहिराइलाई बुझेर अघि बढाएका र अहिलेसम्म पनि बीपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताए । मनमोहन अधिकारी पनि बीपीको नजिकसम्म पुगेको व्यक्ति भएको बताए ।

उनले भने, ‘बीपी महामानव थिएनन् । हामीले बेलाबेलामा गलत बुझ्छौँ । बीपीलाई महामानव भन्नु हुँदैन । बीपी राजनेता हुनुहुन्थ्यो । बीपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । बीपी गल्ती नगर्ने मान्छे पनि होइन, बीपी राजनीति नगर्ने मान्छे पनि होइन । बीपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराइलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैन ।’

उनले माओवादीसहितका राजनीतिक दलहरूले व्यवस्था बदल्नको लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =