हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् : सुदन गुरुङ

काठमाडौँ । हामी नेपालका संस्थापक र जेनजीका नेता सुदन गुरुङले आफ्नो नाममा हुने हिंसात्मक गतिविधिहरूको विरोध गरेका छन् । उनले आफ्नो नेतृत्वमा सञ्चालन हुने आन्दोलन सधैं शान्तिपूर्ण रहेको र अब पनि शान्तिपूर्ण नै हुने बताएका छन् । उनले हिंसात्मक क्रियाकलापमा संलग्न हुनेहरूले कानून बमोजीम सजाय भोग्नुपर्ने बताएका छन् ।
गुरुङले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा भने, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं । हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ ।’
सुदन गुरुङले थप भने, ‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन्; हामीलाई फुटाउन कुनै प्रयास नगरियोस् ।’
उनले पार्टीको नाममा हुने हिंसा र अपारदर्शी राजनीतिक खेलको विरोध गर्दै सबैलाई हिंसात्मक गतिविधिमा संलग्न नहुन र त्यस्ता कार्य रोक्न आग्रह गरेका छन् ।








