सेनाको हेलिकप्टरबाट चार गर्भवती महिलाको उद्धार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा नेपाली सेनाले आज चार गर्भवती महिलाको उद्धार गरेको छ।
मन्त्रालयले संचालन गरेको राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवती र सुत्केरी महिलाको लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो ।
गर्भवती महिलाहरू इलामको माईजोगमाई–५ सिरसिरे, सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ, र सङ्खुवासभा जिल्लाको भोटखोला–३ हुङगुङबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका महिलाहरूलाई उपचारको लागि झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्याइएको छ ।
यस उद्धार कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती महिलाहरूलाई समयमै स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ, जसले सुदूर तथा कठिन क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउनेछ ।








