हालसम्म २२ जनाको ज्यान गयो, विपद्को जोखिम अझै कायम (भिडिओ)

काठमाडौं । शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो ।
जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताए ।
उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो । हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । २२ मध्ये २१ जनाको उद्धार गरिएपनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए ।
इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए । उदयपुरको गिरेबी खोलामा केही मानिसहरु डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको बताए ।
उनकाअनुसार मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ । पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको बताए । पाँच वटा ठूला नदीहरुमा नै बाढीको जोखिम रहेको बताए । यातायातको बन्दको निर्णयलाई पूर्ववत नै राखिएको जानकारी दिए ।
विपद्को जोखिम अझै कायमै रहेको भन्दै शतर्कता अपनाउन आग्रह गरे । पहिरो र बाढीको जोखिम अझै बाँकी रहेकाले लामो दूरीको यात्रा नगर्न आग्रह गरे ।
वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने बताए ।








