मानवीय क्षति नहुनेगरी विपद् व्यवस्थापनका काम गरिएको छः गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुनेगरी पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा उनले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका काम भइरहेको बताएका छन् ।
गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमिकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताएका छन् ।
विपद्का समयमा गतल फाइदा उठाउन खोज्ने प्रवृत्तिविरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उनले भने ‘सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यसविरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।’
सङ्कटका बेला सुशासनको महत्त्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाईका साथ कार्यन्वयन गर्नुपर्ने बताए ।
‘सानोभन्दा सानो कमजोरीले नयाँ परिस्थितिको जन्म हुनसक्छ, हाल राजनीतिक परिस्थिति पनि जटिल छ’, उनले भने ‘व्यापक असन्तुष्टि छ, यहीबीचमा सरकार, संयन्त्र र कर्मचारीको कमिकमजोरीले नाजायज काम भए राज्यप्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ । त्यसैले सबै सतर्क रहन आवश्यक छ ।’








