पहिरोले नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्ड र मुग्लिन-नागढुंगा सडकखण्ड दुवै पहिरोका कारण अवरुद्ध भएका छन्, जसले गर्दा सयौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा खसेको पहिरोले यातायात पूर्ण रूपमा ठप्प पारेको छ।

यसैगरी, मुग्लिन-नागढुंगा सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ-१० स्थित जवाङ खोलामा पनि पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

स्थानीय प्रहरी, बासिन्दा र यात्रुहरूको सहयोगमा बाटो खुलाउने प्रयास गरिए पनि, माथिबाट थप पहिरो खसेपछि सडक पुनः दुईतर्फी नै अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले र ढुंगा-माटो खस्ने क्रम नरोकिएकाले तत्काल पहिरो हटाउने कार्य सुरु हुन सकेको छैन ।

यस सडकखण्डमा पटक-पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् । चाडपर्वको समय अवरोधले जनजीवनमा थप कठिनाइ सिर्जना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =