रातको समयमा बेनी–जोमसोम सडक तीन दिन बन्द

म्याग्दी । स्थानीय प्रशासनले म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनका लागि रातको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बसेको सुरक्षा निकायको बैठकले असोज १८ देखि २० गतेसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सवारीसाधन बन्द गर्ने निर्णय गरेको हो ।

आज रातिदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले रातको समयमा यातायातका साधन सञ्चालन गर्न दुर्घटनाको जोखिम तथा पहिरोका कारण सडक अवरुद्ध भएर यात्रुहरू अलपत्र पर्ने हुँदा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।

‘म्याग्दी हुँदै मुस्ताङ जाने सवारी साधन साँझ ५ बजेभित्र मुस्ताङको घाँसा पुग्नुपर्नेछ,’ उनले भने ‘जोमसोमबाट बेनी आउने सवारीसाधनहरूले साँझ ५ बजे बेनी आइपुग्नुपर्नेछ ।’ असोज २१ गतेदेखि यातायातका साधन नियमित सञ्चालन हुने प्रजिअ तिवारीले बताए ।

बाढीपहिरोसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण आधार शिविर, घोडेपानी, खोप्रा, मोहरेडाडा, ढोरपाटनलगायत पर्यटकीयस्थलको भ्रमणमा नजान पनि प्रशासनले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =