नेवार समुदायले मनाए परम्परागत खड्गजात्रा (तस्बिरहरू)

काठमाडौं । बडादसैंको अन्तिम दिन अर्थात विजयादशमीको साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न नेवार समुदायको बस्तीमा परम्परागत खड्गजात्रा (पाया) उल्लासपूर्वक सम्पन्न गरिएको छ ।
तान्त्रिक विधिबाट खड्ग पूजा गरेर, परम्परागत पोशाकमा सुसज्जित भई खड्ग धारण गर्दै मनाइने यो जात्रा असत्यमाथि सत्यको विजयको प्रतीकस्वरूप मनाइन्छ ।
काठमाडौं उपत्यकामा विशेष गरी कंकेश्वरी, टेःवहाल, वटु भद्रकाली, कोहीटी नीलबाराही र हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिरबाट खड्ग निकालेर नगर परिक्रमा गराउने परम्परा रहेको छ ।
जात्राको अन्त्यमा दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी असत्यमाथि विजय प्राप्त भएको प्रतीकस्वरूप खुसी मनाइने गरिन्छ ।
‘पाया’ पर्वलाई विशेषगरी शक्ति र विजयको पर्वका रूपमा लिइन्छ । यो परम्परा शताब्दीयौँदेखि निरन्तरता पाइरहेको नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदा हो ।









