असोज १७ देखि २० सम्म भारीदेखि अति भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालको मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । बंगालको खाडी र अरब सागरबाट अत्यधिक वर्षा गराउने जलवास्पयुक्त बादलहरू नेपाल प्रवेश गरिरहेकाले असोज १७ (शनिबार) देखि २० (सोमबार) सम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बंगालको खाडीबाट उत्तरतिर सर्दै आएको यो न्यून चापीय प्रणालीले भारतको बिहार, आसाम, मेघालय, र सिक्किममा भारी वर्षा गराउने प्रक्षेपण गरिएको छ, र यो प्रणाली भारतको बिहारमा थप विकसित भएपछि कोशी प्रदेशबाट नेपाल प्रवेश गरी पश्चिमतिर फैलिने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बाढी, पहिरो, डुबान र आकस्मिक नदी बहावको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम अध्येता एवं जलवायुविद् डा. धर्मराज उप्रेतीले भारतको बिहारमा यो प्रणाली थप विकसित भएपछि कोशी प्रदेशबाट नेपाल प्रवेश गर्ने र पश्चिमतिर फैलिने बताए । आगामी शनिबार साँझदेखि सक्रिय हुने यो प्रणाली नेपालभर सोमबार बिहानसम्म रहने अनुमान छ ।

शनिबार साँझदेखि पूर्वी नेपालबाट मनसुन सक्रिय भएपछि आइतबार यो प्रणाली पश्चिमतिर सर्दै मधेश, बागमती, गण्डकी हुँदै लुम्बिनी प्रदेशको मध्यभागसम्म पुग्ने अनुमान छ । मौसम अध्येता एवं जलवायुविद डा. धर्मराज उप्रेतीले भने ‘सुरुमा पूर्वी क्षेत्रमा यसको ज्यादा असर पर्ने अनुमान गरिएकोमा अहिले अवस्था फेरिएर पूर्वीभागको अलि पश्चिम अर्थात् मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान भएको छ । त्यसमाथि पश्चिमी वायुको पनि प्रभाव हुने भएकाले नेपालभर नै पानी पर्न सक्ने सम्भावना छ ।’

यो वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन अगावै जेठ १५ गतेदेखि प्रवेश गरेको थियो । बाहिरिने समयमा पनि यसको प्रभाव लम्बिएको छ ।

मौसम अध्येता एवं जलवायुविद डा. धर्मराज उप्रेतीले मनसूनको बाहिरिने बेलामा मनसून सक्रिय भएको छ, यसलाई सामान्य अवस्थाको रुपमा लिन नहुने बताए । यसले धेरै क्षति गर्न सक्ने अनुमान गर्न सकिने बताए । विश्वमा प्रचलित विभिन्न मोडेलले गरेको प्रक्षेपणका आधारमा गरिएको यो पूर्वानुमानलाई कसैले पनि नजरअन्दाज नगर्न आग्रह गरे ।

मौसम अध्येता एवं जलवायुविद उप्रेतीले वर्षायामको अन्त्यतिर हाम्रो माटो पर्याप्त भिजिसकेको हुँदा सामान्य झरीले पनि जोखिम बढाउने बताए । अहिले ६० मिलिमिटरभन्दा बढी पानी पर्दा पहिरोको जोखिम रहेको जलवायुविद डा. धर्मराज उप्रेतीको भनाइ छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षा हुने बताइसकेको छ । “बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा आकस्मिक बहाव र डुबानको जोखिम उच्च छ,” प्राधिकरणले जारि गरेको सूचनामा उल्लेख छ। यी क्षेत्रका नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा पानीको सतह खतरा तह नजिक पुग्ने बताइएको छ ।

दशैंको भीडभाडलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यक नभई घरभन्दा टाढा र विशेष गरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । जलवायुविद् उप्रतीले शनिबार र आइतबार रातिको समयमा र निरन्तर वर्षा भइरहेको अवस्थामा लामो दूरीको यातायात रोक्नुपर्ने बताए ।

यात्रामा निस्कनु अघि सरकारको आधिकारिक सूचनालाई ख्याल गर्न आग्रह गरे । जल तथा मौसम विज्ञान विभागले निकालेको सूचनालाई आधार मानेर ब्यबहार गर्न आग्रह गरे ।

अघिल्लो वर्ष धेरैले पुर्वानुमानको सूचनालाई अटेर गर्दा ठुलो जनधनको क्षति भएको नबिर्सन जलवायुविद उप्रेतीले सचेत गराए । आगामी शनिबार र आइतबार देशभर सतर्क हुनुपर्ने बताउनु भयो विशेष गरि रातो सूची र पहेंलो सूचीमा रहेका जिल्लामा सतर्कता अपनाउन आग्रह गरे ।

रातो सूची र पहेंलो सूचीमा रहेका जिल्लाको स्थानीय सरकार र प्रशासनले नागरिकलाई धैर्य गर्न र सावधानी अपनाउन सूचना दिन आग्रह गरे ।

यता प्राधिकरणले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउन र यस्तो निर्णयको पालना गर्न निर्देशन दिएको छ ।

पहिरोको जोखिममा रहेका र नदी किनारका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन र डुबान सम्भावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानबारे अग्रिम जानकारी लिन र दिन आग्रह गरिएको छ ।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला संस्थालाई पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =