कता फर्किएर लगाउने दशैंको टीका ?

काठमाडौं । नेपालीको महान पर्व बडादशैं आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । नवदुर्गा भवानीको प्रसाद स्वरूप मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी छ । यस वर्ष टीका लगाउनका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत तोकेको छ ।

दशैंको टीका लगाउँदा टीका थाप्ने र लगाइदिने व्यक्तिको दिशा महत्वपूर्ण मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार परम्पराअनुसार टीका थाप्ने व्यक्ति पूर्व फर्कनुपर्छ भने टीका लगाइदिने मान्यजन पश्चिम फर्किनुपर्छ । ‘सामान्यतया: पूर्व–पश्चिम नै हाम्रो पुरानो परम्परा हो,’ प्रा.डा. भट्टराई भन्छन्, ‘दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ ।’

कतिपयले दक्षिण दिशामा फर्केर टीका लगाउने गरेको पाइए पनि यसलाई उपयुक्त मानिँदैन । प्रा.डा. भट्टराईका अनुसार दक्षिण दिशा पितृकर्मका लागि मात्रै प्रयोग गरिने भएकाले दशैंको टीका लगाउँदा यो दिशामा नफर्किनु राम्रो हुन्छ । यद्यपि, केही व्यक्तिले चन्द्रमाको अवस्था हेरी साइतका आधारमा पनि दिशा निर्धारण गर्ने गरे पनि, त्यति विस्तृत रूपमा जाने चलन सामान्यतया: छैन ।

यस वर्ष देवी विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेटमा रहेको छ । समितिले तोकेको उत्तम साइत ११ बजेर ५३ मिनेटमा टीका लगाउन सम्भव नहुने वा काम विशेषले टाढा जानुपर्नेहरूले देवी विसर्जन गरेलगत्तै झुल्के घाममै टीका लगाउन सक्ने बताइएको छ । टीका र जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु पर्दैन भन्ने मान्यता पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =