तलेजुमा एकान्तकुमारी एवं गणकुमारीको पूजा
२०८२ असोज १५ गते

भक्तपुर । यहाँको प्रसिद्ध तलेजु मन्दिरमा जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ ।
हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन कुमारी जात्राका साथ एकान्तकुमारी र गणकुमारीको पूजा गर्ने प्रचलनअनुरुप तलेजुमा पूजा गरिएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर पूजा गरी जात्रा मनाइएको उनले जानकारी दिए । कुमारीको चतुब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।
आज ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई तलेजु जात्रा मनाइएको छ । मूल पुरोहितले तलेजुमा मांसाहुती दिने परम्परा छ ।
तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुन्छ ।
२०८२ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








