तुलजा भवानीको ढोका खुल्दा भक्तजनको घुइँचो (तस्बिरहरु)

काठमाडौं । वर्षमा एक पटक मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तुलजा भवानी मन्दिरमा आज महानवमीको अवसरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साक्षात् देवीका रूपमा पुजिने तुलजा भवानीको दर्शनका लागि सर्वसाधारणले वर्षभरि प्रतीक्षा गर्ने भएकाले आज मन्दिर परिसरमा भक्तजनको अपार भीड देखिएको हो ।
विशेषगरी महानवमीको दिन मात्र सर्वसाधारणका लागि खुला गरिने यो मन्दिर मल्ल राजाहरूको कुलदेवीका रूपमा पनि प्रख्यात छ । इतिहासअनुसार कान्तिपुरका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लले तुलजा भवानीसँग पासा खेल्ने गरेको जनविश्वास छ ।
फूलपातीकै दिन हनुमानढोका दरबारस्थित मूलचोकमा स्थानान्तरण गरिएकी तुलजा भवानीलाई विजयादशमीको बिहान मात्र मूल मन्दिरमा फर्काइने परम्परा छ । यसैबीच, महाअष्टमीको मध्यरातमा मूलचोकमा विशेष कालरात्रि पूजासहित ५४ बोका र ५४ राँगाको बलि दिइएको थियो ।
दशैँको नवौँ दिन, महानवमीमा शक्तिपीठहरूमा विशेष पूजा आराधना गरिने यो महत्त्वपूर्ण दिनमा तुलजा भवानीको दर्शन गर्नुलाई निकै पुण्य मानिन्छ । यसैले पनि भक्तजनहरू लामो लाइनमा बसेर भए पनि एक झलक दर्शन गर्न लालायित देखिन्छन् ।









