उपसभामुख राना र उपाध्यक्ष घिमिरेद्वारा बडादसैँको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताएकी छन् ।

बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई शुभकामना दिने क्रममा उपसभामुख रानाले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गरिन् ।

“निर्वाचनमार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीतिनिर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ, आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु,” शुभकामना सन्देशमा उल्लेख छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजाआराधना गरी दसौँ दिनका विशेष अवसरमा टीकाजमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने महान् चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरका रुपमा लिइने उल्लेख गर्दै उपसभामुख रानाले भनिन् “बडादसैँका पावन अवसरमा सम्पूर्ण नेपाली सुस्वास्थ्य, समृद्धिसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जनताले अपेक्षा गरेको सुशासन र जवाफदेहितामा जनप्रतिनिधिहरू अझ उत्तरदायी बन्नुपर्ने खाँचो औँल्याइन् ।

उपाध्यक्ष घिमिरेले बडादसैँका अवसरमा शुभकामना सन्देश दिनुहुँदै पछिल्लो समय संविधानको संरक्षण, राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकको अपेक्षा बढेको बताइन् ।

राष्ट्रियसभाले निरन्तर संविधान कार्यान्वयन, संसद्को गरिमा र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा ध्यान दिइरहेको उल्लेख गर्दै उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रियसभालाई संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न क्रियाशील बनाउने दायित्व थपिएको बताइन् ।

उनले मुलुकलाई स्थिर, शान्त र समृद्ध बनाउन सबै राजनीतिक दल, नागरिक समाज, आमसञ्चारमाध्यम र प्रत्येक नागरिकको सक्रिय योगदान अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।

“नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाज भएको राष्ट्र हो । हाम्रो संस्कृति र परम्पराले विविधतालाई आत्मसात् गर्दै सामूहिक शक्ति निर्माण गर्ने अवसर प्रदान गरेको छ । बडादसैँ जस्तो चाडपर्वले परिवार, समाज र राष्ट्रबीचको सम्बन्धलाई अझ मजबुत पार्ने काम गर्दछ । यस पर्वले हाम्रो सामाजिक मूल्य, सहिष्णुता र एकताको भावनालाई अझ गहिरो बनाउन सहयोग गर्नेछ । बडादसैँको पावन अवसरमा सबैलाई शुभकामना !” उपाध्यक्ष घिमेरेको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =