आज महाषष्ठी : देवी कात्यायनीको विशेष पूजाआराधना

काठमाडौं । देशभर बडादसैँको रौनक छाइरहेका बेला नवरात्रको छैटौँ दिन आज अष्टमातृका भगवतीको छैटौँ शक्तिस्वरूपा देवी कात्यायनीको विशेष पूजाआराधना गरिँदैछ । शक्तिपीठ तथा दसैँघरहरूमा भक्तजनको घुइँचो लागेको छ ।
धार्मिक विश्वासअनुसार कात्यायनी देवीको आराधनाले रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्ग प्रशस्त हुने जनविश्वास छ । यसै कारण आजको दिन देवी कात्यायनीको विशेष भक्तिभावका साथ पूजा गर्ने परम्परा रहिआएको छ । शास्त्रानुसार महर्षि कात्यायनको कठोर तपस्याबाट प्रसन्न भई भगवती स्वयं उनकी पुत्रीका रूपमा जन्मिएकाले उनलाई ‘कात्यायनी’ भनिएको हो ।
पुराणमा उल्लेख भएअनुसार त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको संहारका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी यी देवीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरी विजयादशमीका दिन महिषासुरको वध गरेकी थिइन्। त्यसैले उनी धर्म र न्यायकी प्रतीकका रूपमा प्रतिष्ठित छन् । देवी कात्यायनीलाई चार हातका साथ सिंहमाथि विराजमान भएको स्वरूपमा चित्रण गरिएको छ । उनको वर्ण स्वर्णझैँ तेजस्वी छ ।
दाहिने हातमा अभय र वर मुद्रा तथा देब्रे हातमा तरबार र कमल पुष्प सुशोभित छन् । उनलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ । नवरात्र साधनाको छैटौँ दिनमा भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने मान्यता छ । यस दिन बेलको फेदमा बसेर जागरण गर्ने प्रचलनसमेत छ । विश्वास गरिन्छ कि कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष चारै पुरुषार्थ प्राप्त गर्न सकिन्छ ।
समकालीन सन्दर्भमा पनि देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ, जसले समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरणा प्रदान गर्छिन् ।
काठमाडौँ उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठहरू- गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज बिहानैदेखि विशेष पूजा-आराधना भइरहेको छ। दसैँभरि नौ दिनसम्म दसैँघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ ।
आजका दिनमा ब्रह्य मुहूर्तमा उठेर नित्य कर्म गरी शुद्ध भई रातो रङ्गको कपडा लगाएर पूजा कोठा सफा गर्नुपर्छ । त्यसपछि कात्यायनी माताको प्रतिमा वा चित्र स्थापना गरी दियो बालेर दियोको पूजा गर्नुपर्दछ । कलश पूजा पछि देवीलाई सौभाग्यसुत्र, चन्दन, बेसार, सिन्दूर, दुबो, बेलपत्र, आभूषण, पुष्प, सुगन्धित द्रव्य, धूप–दीप, नैवेद्य (रातो), फल, पान, सख्खर, दक्षिणा, पञ्चामृत (दूध, दही, घिउ, मह, सख्खर) चढाउनुपर्छ । ‘ॐ देवी कात्यायन्यै नमः’ यो मन्त्रको जप गर्दै प्रदक्षिणा र वन्दना श्लोक पाठ गर्नुपर्दछ । पूजा सकिएपछि आरती गरी प्रसाद वितरण गरेर आफूले पनि ग्रहण गरी शान्तिपूर्वक समय बिताउनुपर्दछ ।








