विकास निर्माणका काममा फर्किए बालेन, सानो गौचरणको फुटबल रंगशालाको काम धमाधम !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सानो गौचरणमा महिला फुटबलका लागि विशेष प्रशिक्षण रंगशालाको पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत रंगशाला निर्माण सम्बन्धी प्रगति र योजनाबारे जानकारी दिएका हुन् ।

महानगरपालिकाले लामो समयदेखि महिला फुटबलले देखाउँदै आएको सफलतालाई थप संस्थागत गर्दै ‘१२ महिना प्रशिक्षण दिन मिल्ने सुविधा सम्पन्न ग्राउन्ड’ निर्माणको लक्ष्य लिएको थियो । सोही योजना अनुसार काठमाडौं महानगरपालिका–५ अन्तर्गत सानो गौचरणको सार्वजनिक जग्गामा स्टेडियम निर्माण सुरु भएको हो ।

बालेनका अनुसार २०८१ मंसिरमा पुनर्निर्माण सुरु भएको सानो गौचरन रंगशाला २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्यको जिम्मा १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँको ठेक्का पाएको शुभ कन्स्ट्रक्सनले लिएको छ ।

रंगशालामा ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको फुटबल मैदान बन्नेछ । मैदानमा कृत्रिम घाँस राखिनेछ, जसमा आकाशे पानी निकास प्रणाली समेत रहनेछ । साथै, मैदान वरिपरि सुरक्षा सिमा पर्खाल निर्माण गरिने बताइएको छ ।

रंगशाला परिसरमा २८ वटा चारपाङ्ग्रे र १७८ वटा दुईपाङ्ग्रे सवारीसाधन अट्ने पार्किङ सुविधा रहनेछ ।
सार्वजनिक सुविधाको हिसाबले पनि रंगशाला आधुनिक बनाइनेछ । निर्माण अवधारणाअनुसारः

भुइँ तलामा महिलाका लागि २३ वटा, पुरुषका लागि १६ वटा शौचालय, पहिलो तलामा महिलाका लागि ७ वटा, पुरुषका लागि ५ वटा शौचालय बनाइनेछ ।

उनका अनुसार काठमाडौं महानगरपालिकाले विद्यालयका खेलमैदानदेखि सार्वजनिक स्थानका खेल संरचनाको स्तरवृद्धिमा विशेष ध्यान दिएको छ ।

‘विगत केही वर्षदेखि महिला फुटबलले पाएको सफलता कसै माझ लुकेको छैन,’ उनले लेखेका छन्, ‘हाम्रो उद्देश्य कम्तीमा एउटा १२ महिना खेल्न मिल्ने सुविधा सम्पन्न ग्राउन्ड बनाउने थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =