माओवादी केन्द्रको केन्द्रीय समिति भङ्ग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी मङ्सिरका विशेष महाधिवेशन गर्ने भएको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भङ्ग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिए । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ । बैठकले जेन—जी आन्दोलनको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने पनि भएको छ ।

माओवादी केन्द्रले नेताहरूको सम्पन्न छानबिन गर्नका लागि सम्पत्ति छानबिन आयोग पनि गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानबिन समिति बनाएर नेताहरूको सम्पत्ति छानबिनको काम सुरु गर्ने निर्णय गरिएको छ ।

उनले भने ‘सम्पत्ति छानबिन आयोग बनाएर सम्पत्तिको छानबिन गर्ने । त्यो पदाधिकारीबाट सुरु गर्ने । कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने । महाधिवेशन मङ्सिरको अन्तिमसम्म गर्ने निर्णय गरियो ।’

त्यसैगरी केन्द्रीय कार्यालय, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढङ्गले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =