जेनजी आन्दोलनमा आगजानी भएको कोटेश्वर प्रभागमा प्रहरी पुनःस्थापित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएर क्षतिग्रस्त भएको कोटेश्वर प्रभागमा प्रहरी पुनस्र्थापित गरिएको छ ।
प्रभागको पुनर्निर्माण सम्पन्न भएपछि बिहीवार एक विशेष कार्यक्रमको आयोजना गरी त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनःस्थापना गरिएको हो ।
भदौ २४ गतेको आन्दोलनमा देशका सयौँ प्रहरी कार्यालयहरूमा क्षति भएको थियो । हाल स्थानिय समुदायको सहयोगमा प्रहरी पुनःस्थापना भइरहेको छ ।
कार्यक्रममा उपत्यकाका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० दानबहादुर कार्कीले प्रहरीका काम गर्नमा सहयोग गर्न आग्रह गरे । प्रहरी र नागरिकको सहकार्यमा अघि बढ्नुपर्ने उनको भनाई छ । ७० वर्षको इतिहासमा नेपाल प्रहरीले विभिन्न आरोह अवरोहहरु पार गरेर आएको उनले बताए ।
मुलुकमा भएका राजनितिक, सांस्कृतिक किसिमका अनेकन आरोह, अवरोह पार गर्दै नेपाल प्रहरी सतिसाल जस्तो खडा भएको उनको भनाई छ ।
उनले भने ‘अब हामीले भवन त बनायौँ तर भावना बनाएनौँ भने यो चाहीँ प्रहरी त ल्यायौँ, प्रहरीलाई काम गर्न सहयोग गरेनौँ भने यहाँ भएका बर्दीधारी प्रहरी र बर्दीविहिनका सम्पूर्ण प्रहरी । हामी बर्दीधारी पनि हो, बेलाबखत बर्दी खोलेकाहरु फरक क्याप लगाउने मान्छे पनि हो । यहाँहरु बदीविहीनका नागरिक पनि हुनुहुन्छ, यो बर्दीधारी र बर्दीविहिन बीचको प्रहरी कार्य छ, सामुहिक । यो सुकार्यमा लाग्नलाई आजको यो कुराले सम्पूर्णमा प्रेरित गरोस् ।’
उनले नेपाल प्रहरी नागरिकको दुःख र सुख दुवैको साथी भएको बताए । नागरिकले कहिलेकाँही प्रहरीमाथी आवेगमा आक्रोश समेत व्यक्त गर्ने गरेको उनको भनाई छ । स्थानीयहरुले प्रभागमा फर्केका प्रहरीहरूलाई फूलमालाले स्वागत र सम्मान गरेका थिए । साथै आन्दोलनको क्रममा ज्यान गुमाएका दिवंगत प्रहरीहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो ।








