कांग्रेस नेता शेखर कोइराला र गगन थापाबीच भेटवार्ता

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ ।

बुधबार पार्टीको आन्तरिक अवस्था र समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफल भएको हो । लामो समयपछि भएको यो भेटवार्तालाई राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिएको छ ।

गत जेठ १७ यता पहिलोपटक भेटेका यी दुई नेताबीच पार्टी नेतृत्व, भावी रणनीति र चुनावी तयारीका विषयमा गहन छलफल भएको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटवार्ता सौहार्दपूर्ण रहेको थियो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको नेतृत्वमा भएको आन्दोलनपछिको घटनाक्रमले नेपाली कांग्रेसमा शक्ति सन्तुलनको बहसलाई चर्काएको छ । आन्दोलनपछि कांग्रेस सहभागी ओली नेतृत्वको सरकार ढलेको र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।

यद्यपि कांग्रेसले संस्थागत रूपमा संसद् विघटनको विरोध गरिरहेको छ, कोइराला र थापाले भने नेतृत्व र नीति परिवर्तनसहित चुनावमा जानुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् ।

यसै, सन्दर्भमा महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिमा विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका थिए । तर सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले त्यसको कडा विरोध गरेका छन् ।

नेता कोइराला पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । हाल उनी र थापा पक्षीय नेताहरूले विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षर संकलनको अभियान सुरु गरेका छन् । यसलाई पार्टी विभाजनतर्फ लैजाने प्रयासका रूपमा चित्रित गर्दै देउवा पक्षका नेताहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै आएका छन् ।

पार्टी विधान अनुसार, केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशतले कारणसहित माग गरे सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

साभापति देउवा यतिबेला अस्पतालमै छन् । उनी भदौ २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका थिए । देउवा पक्षले केन्द्रीय समिति बैठकमार्फत आफ्नो कार्यकाल एक वर्ष थप्ने तयारी गरिरहँदा संस्थापनइतर पक्ष भने विशेष वा नियमित महाधिवेशनको तयारीमा जुटिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =