चाडपर्व लक्षित खाद्य वस्तुको अनुगमन तीव्र पार्दै विभाग

काठमाडौँ । खाद्य प्रविधि तथा गुण निमन्त्रण विभागले चाडपर्व लक्षित अनुगमन तीव्र पार्दै गएको छ ।
नेपालीहरूको महानचाड दसैँ तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुहरू बढेको गुनासाहरू बढेपछि अनुगमन सुरु गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डाक्टर मतिना जोशी (वैद्य) ले चाडपर्व लक्षित अनुगमनलाई बढाइएको बताइन् ।
अहिले राजमार्गमा भएका होटेल, रेस्टुरेण्टहरु लगायत बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र यसअन्तर्गत रहेका सातवटा प्रदेशमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरू र ती प्रदेशअन्तर्गत रहेका कार्यालयअन्तर्गत रहेका जिल्लास्थित डिभिजन कार्यालयहरूमार्फत भइरहेको छ । अनुगमनबाट निर्देशन दिनेदेखि जरिवानासम्म गर्ने काम भइरहेको उनको भनाइ छ ।
महानिर्देशक वैद्यले पानीका जारदेखि दुग्धजन्य वस्तु, खाद्यान्न सम्म नै अनुगमनबाट समस्या देखिएको बताइन् । उनकाअनुसार प्रशोधित पानीहरूमा समस्याहरू छन् । पुराना थोत्रा जारहरू जता ततै प्रयोग भइरहेको छ । ती जारहरूलाई उपभोक्ताले रिजेक्ट गर्न सकेका छैनन् । उनका अनुसार रेस्टुरेण्ट होटलहरुले मापदण्ड पूरा नगरेको, दुधमा मिसावट गरिएको, कतिपय खाद्य वस्तुमा बढी रंग प्रयोग गरिएको पछिल्ला अनुगमनबाट पाइएको छ ।
महानिर्देशक वैद्यले भनिन् ‘कोतरेको जारमा हामीले त्यो जारलाई किन्नुपर्छ भन्ने छैन नि त । बजारमा अरू पनि अप्सन छ नि । जब उपभोक्ताले रिजेक्ट गरिदिनु भयो समस्या अलि कम हुन्छ र हामीले भेटेको ठाउँमा त्यो जारहरू तोड्ने गरिराख्या छौँ । अब होटेल रेस्टुरेन्टमा पुनः प्रयोग हुने तेलहरूमा जथाभाबी प्रयोग भइरहेको पायौँ, पहिलाको तुलनामा अलि कम त भाछ, र पनि सबै ठाउँमा खाद्य निरीक्षक अधिकारीहरू पुग्न नसक्ने पनि हुन्छ । डेली जाने कुरो पनि भएन । त्यसले गर्दाखेरि यस्तो खालको तेलहरूको एकदमै खराब अवस्थाको तेल छ, जसले गर्दाखेरि त्यहाँ पकाएको खाद्य वस्तु राम्रो हुँदा पनि त्यो तेलले गर्दाखेरि नै बिग्रिने एउटा अवस्था छ । अहिले आइराखेको रिपोर्टमा के भनिराछ भने होटेल रेस्टुरेण्टहरुमा एउटा सजगता पनि छैन र हामीले उहाँहरूलाई अझै धेरै पढाउनुपर्ने देखियो । त्यहाँ रङहरूको प्रयोग पनि अत्यधिक मात्रामा भइराखेको छ र हामी के भन्छौँ भने रङ प्रयोग गरिसकेपछि पकाउने होइन, हैन ? तयारी खाद्य वस्तुहरूमा केही मात्रामा, तोकिएको मात्राभित्र रहेर प्रयोग गर्न सकिन्छ । त्यो पनि समस्या आइरहेको छ । सरसफाइको असाध्यै धेरै समस्याहरू छ । कतिपय ठाउँहरूमा अहिले एकदमै जस्तो स्टेनलेस स्टिलको टेबलहरु, जुन सफा गर्न सक्ने खालको पनि देखिएको छ । कतिपय ठाउँमा वेस्ट म्यानेज गर्नुपर्ने भएपनि त्यो नगर्दाखेरि त्यहीबाट किराहरू, प्रकोपहरू हुने गरेको पायौँ । दुदहरूमा पनि मिसावट भएको धेरै गुनासो छ, फ्याट पुग्या छैन अथवा चाहिँ त्यसमा सूक्ष्म जीवहरूको कुराहरू आइराखेको छ । त्यसकारणले त्यो कुरालाई पनि हामी अध्ययन गरिराख्या छौँ । कतिपयमा कहाँ उजुरीहरू पनि आइराख्या छ । र त्यसलाई पनि हामीले, बजारमा अनुगमनको दायरा अल्लि फराकिलो गराएका छौँ ।’
जोशीकाअनुसार मुलुक संघीय प्रणालीमा गएकाले तल्लो तहबाट पनि अब अनुगमन हुनसक्ने भएकाले खाद्य स्वच्छता कायम गरिने बताइन् ।
उनकाअनुसार २ वर्ष अगाडीसम्म २०२० सालको खाद्य ऐन रहेकोमा विश्व बजारको परिवेशलाई समेटेर गुणस्तर ऐन, २०८१ आइसिकेको छ । त्यसले सम्पूर्ण खाद्य शृङ्खलामा नै खाद्य स्वच्छता कायम हुनुपर्ने भनेको छ । ऐनअनुसार विभागले प्रभावकारी हिसाबले काम गर्दै जाने उनले बताइन् ।








