विराटनगरमा देवरद्वारा भाउजूमाथि एसिड प्रहार

काठमाडौं । विराटनगर महानगरपालिका–९ मा एक युवकले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय श्रवण साह (छोटु)ले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् ।

मोरङ प्रहरीले दिएको जानकारीअनुसार घरमा दाजु नभएको मौका छोपी श्रवणले एसिड आक्रमण गरेका हुन् । उनले वियरको बोतलमा एसिड लिएर आएकै अवस्थामा रागिनीदेवीमाथि प्रहार गरेका थिए ।

अनुहारमा लक्षित गरेर प्रहार गरिएको एसिड महिलाले रोक्ने प्रयास गर्दा हात र शरीरका अन्य भागमा समेत लागेको छ । यसक्रममा उनी लगाएको सल समेत एसिडले जलेको प्रहरी स्रोतले जनाएको छ ।

घाइते महिलाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा लेनदेन सम्बन्धी घरायसी विवादका कारण आक्रमण भएको खुलेको छ । घटनापछि फरार रहेका आरोपी श्रवण साहको खोजी तीव्र पारिएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ । स्थानीय स्तरमा भने घटनाले आक्रोश र चिन्ता दुवै पैदा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =