निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’ जरुरी : दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेन-जी आन्दोलनका कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । उनले अहिलेको अवस्थाबाट उद्योगीलाई माथि उठाउन रिफाइनान्सिङ आवश्यक रहेको बताएका हुन् । 

मल्होत्राले अहिलेको समस्या भूकम्प र कोभिड-१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गरे । सरकारले पुनरुत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक रहेको बताउँदै उनले अहिलेको समस्या समाधान गर्न राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको औँल्याए ।

आर्थिक पत्रकार संघले आज राजधानीमा गरेको कार्यक्रममा मल्होत्राले भने, ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारको छ । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ। दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’

उनले करिब ११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएको र नेपालको जनशक्ति घट्दो अवस्थामा रहेको बताए । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष मल्होत्राले उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकारले उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =