जेन-जी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ : पूर्वअध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले जेन-जी आन्दोलनले मुलुकमा सबैलाई डराउनुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । उनले हालको प्रमुख चुनौती शान्ति सुरक्षा रहेको उल्लेख गर्दै सरकारले व्यवसायीहरूलाई ‘डराउनुपर्दैन’ भन्ने सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले जेन-जी आन्दोलनपछि ती युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब स्टार्टअपलाई अगाडि बढाउनुपर्ने बताए । युवाहरू विदेश जाने गरेकाले नेपालमा जनसंख्या घटिरहेको भन्दै राज्यले नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारी कार्यालयमा हुने ढिलासुस्ती र झन्झटिलो प्रक्रियाका कारण व्यवसायीहरूले भोग्नुपरेको दुःखप्रति उनले चिन्ता व्यक्त गरे । यसको अन्त्य गरी चुस्त सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । मल्लले भने, ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ । जेन-जी अवस्थाका युवाहरू स्वदेशमा काम नभएर विदेश जाने गरेका छन् । हाम्रा युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुपर्‍यो । अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया छ, जसले गर्दा सेवा लिन निकै समस्या हुन्छ । यसलाई सुधार गर्नुपर्छ ।’

पूर्वअध्यक्ष मल्लले अहिले सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) को प्रचुर सम्भावना रहेको बताए । गाउँको दूरदराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने उनको भनाइ थियो । पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै उनले सरकारले तत्कालै ‘नेपाल सुरक्षित छ’ भनेर विश्वव्यापी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा अनौपचारिक कारोबार बढी हुने गरेको भन्दै त्यसलाई रोक्न सकेको खण्डमा राजस्व समेत बढ्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =