जेन-जी आन्दोलनले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको बताएका छन् । उनले आन्दोलनले निजी र सार्वजनिक संरचनामा पुगेको क्षतिले लगानीको सुरक्षामा प्रश्न उठाएको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले आन्दोलनका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५ प्रतिशतले नोक्सान भएको जानकारी दिए । अध्यक्ष पाण्डेले भने, ‘उद्योगहरूमा कुल जीडीपीको ५ प्रतिशत असर पुगेको छ । लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो । लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’

उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण गरेर सहुलियत दिनसक्नुपर्ने सुझाव पनि उनले दिए । उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

पाण्डेले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेन-जी आन्दोलनले त्यो लगानी रोकिएको धारणा राखे । उनकाअनुसार केही महत्त्वपूर्ण प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =