बडा दसैँको उमङ्ग : शक्तिपीठहरूमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडा दशैंको प्रारम्भ भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राखेर यस पर्वको विधिवत् सुरुवात गरिएको हो ।

पूर्णिमासम्म पन्ध्र दिन मनाइने यो पर्व असत्यमाथि सत्यको विजय तथा खुसी र समृद्धिको प्रतीकका रूपमा लिइन्छ । दशैंको मुख्य आकर्षण भनेको नौ दिनसम्म चल्ने नवरात्रि हो, जसमा देवी दुर्गाका विभिन्न नौ स्वरूपहरूको पूजा आराधना गरिन्छ। नवरात्रिको पहिलो दिन आज शैलपुत्री देवीको विशेष पूजा गरिएको छ ।

हिमालयकी पुत्रीका रूपमा पूजिने शैलपुत्रीको आराधना गर्दै श्रद्धालुहरूले पवित्र माटो तथा गोबरले लिपपोत गरिएको दशैंघर वा पूजा कोठामा जौ छरेर जमरा राखेका छन् । यसरी राखिएको जमरालाई नवमीसम्म हरेक दिन जलसिञ्चन गरिन्छ र दशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ ।

घटस्थापनाको शुभसाइतमा वैदिक विधिपूर्वक घडा स्थापना गरी शक्तिपीठहरूमा पूजा आरम्भ गरिएको छ । यसै सन्दर्भमा काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठहरू गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, भद्रकाली, शोभाभगवती, कालिकास्थान लगायतका मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको बाक्लो घुइँचो लागेको छ । श्रद्धालु भक्तजनहरूले लामो लाइनमा बसेर देवीको दर्शन तथा पूजाअर्चना गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =