दशैँमा खाद्यले खसी,बोका र च्याङ्ग्रा नबेच्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले विक्री नहुने जनाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेनजी आन्दोलन र सडक अवराधका कारणले यस वर्ष खसी,बोका र च्याङ्ग्रा ल्याउन नसकेको बताए । देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उनको भनाई छ ।
जेनजी आन्दोलनपछि पनि खसी,बोका र च्याङ्ग्रा ल्याउन कोशिष गरेको भएपनि नसकेको उनले बताए । हाल सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको उल्लेख गर्दैै उनले लामो समय खसी,बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताए।
खसीबोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्शानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यो वर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रले बताए ।
उनले यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले मूल्यवृद्धि नगरि सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गरे । यो वर्ष खाद्यले खसीबोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणको लागि अनुगमन भने गर्ने बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद विभागको विभागीय प्रमुख अनन्तराज पौडलले कम्पनीको बार्षिक कार्यक्रम अनुरुप चाडपर्वको बेलामा खसी बोका र च्याङ्ग्रा विक्रीको लागि सम्पूर्ण तयारी गरिएको भएपनि रोकिएको बताए ।
खरिदका लागि सम्बन्धित कार्यलयमार्फत स्थानीय तहहरुमा पत्राचार समेत भइसकेको अवस्थामा रद्द गरिएको उनले जानकारी दिए । उनकाअनुसार खाद्य कम्पनीले यस वर्ष अनलाइन प्रणालीमार्फत पनि खसीबोका विक्री गर्ने योजना बनाएको थियो ।
अनलाईन पोर्टलमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्याङ्ग्रा सेलेक्ट गरेर डेलिभरी लिने मिति समेत राखेर लैजान मिल्ने गरी तयारी गरिएको उनले बताए ।
अनलाइन बुकिङमार्फत करिव ३० वटा अर्डर आएको भएको उनले जानकारी दिए । उनले जेनजी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको बताए ।
कम्पनीले यसअघि करिव १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो ।
यद्यपि, खाद्यले दशैंका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण सुरु गरिसकेको छ ।








