पार्टी सुधार र सुशासनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भाद्र २३ र २४ गतेका आन्दोलनका शहीद तथा घाइतेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको आमूल परिवर्तन र देशमा सुशासन स्थापनाका लागि आफू दृढ संकल्पित रहेको बताएका छन् । उनले भ्रष्टाचारको अन्त्य नभएसम्म शहीद परिवार भेट्न आफूलाई योग्य नठान्ने समेत स्पष्ट पारेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भनेका छन्, ‘हाम्रो भत्केका घरहरू फेरि बन्नेछन्, कार्यालयहरू ठडिनेछन्, तर गुमेको जीवन फर्किँदैन ।’ उनले कतिपय साथीहरूले घाइते र शहीद परिवारलाई भेट्न किन नगएको भनी प्रश्न गरेको उल्लेख गर्दै त्यसको जवाफमा भनेका छन्, ‘भ्रष्टाचारको अन्त्य र सुशासनको माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले ठोस परिणाम ल्याएपछि मात्र म परिवारलाई भेट्न योग्य ठान्छु ।’

महामन्त्री थापाले भाद्र २३ को आन्दोलनमा भएको व्यापक दमन र भाद्र २४ को आन्दोलनमा नौजवानहरूको पवित्र आक्रोश तथा घुसपैठ दुवैको गहिरो छानबिन हुनुपर्नेमा जोड दिएका छन् । ‘दोषीले सजाय पाउनुपर्छ, यदि दण्डहीनता भयो भने आन्दोलनको पवित्रता बदनाम हुन सक्छ,’ उनको भनाइ छ ।

उनले २०४६ सालपछिका जिम्मेवार राजनीतिक, प्रशासनिक र सेना क्षेत्रमा रहेका व्यक्तिहरूको सम्पत्ति, जग्गा, व्यापार आदिको कानूनी छानबिन हुनुपर्ने माग समेत गरेका छन् । थापाले भने, ‘गल्ती भएकोले सजाय पाउनुपर्छ, अनि मात्रै उपलब्धि स्वीकार्य हुन्छ ।’

पार्टीको रूपान्तरण र पुनर्गठनको आवश्यकता औंल्याउँदै थापाले विशेष महाधिवेशन वा नयाँ अधिवेशनमार्फत नेतृत्व र नीति निर्धारण गर्नुपर्ने विकल्पमाथि जोड दिए । ‘पार्टीको रूपान्तरण नगरी आन्दोलनको भावनालाई बोकेर हिँड्न सकिँदैन । अधिवेशन वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व, नीति र सुधार कार्यान्वयन गर्नुपर्छ,’ उनले स्पष्ट पारे ।

थापाले पार्टी रूपान्तरणको यो अभियानमा जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र पार्टीको साधारण सदस्य भएर भुइँमा बस्न पनि तयार रहेको उल्लेख गरे । उनले देश पार्टीभन्दा माथि रहेको बताउँदै देशको हितका लागि काम गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले नौजवानहरूले ओकलेको आगोको मर्म बुझ्न सबैलाई आह्वान गर्दै भने, ‘उनीहरूले खोजेको परिवर्तनलाई सम्बोधन गर्ने पार्टी मात्र देशका लागि जिम्मेवार बन्न सक्छ । यस्तो पार्टी बनाउन सक्यो भने मात्रै हामी शहीद परिवारलाई श्रद्धाञ्जली अर्पण गर्न योग्य हुनेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =